RayNewsDaily
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने   

काठमाडौं । काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ ।    
    
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।    
    
अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी पूर्णरुपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।”    
    
गुहेश्वरीमाथि धापमा जस्तै बिभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।    
    
बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।    
 बागमती सफा गर्नका लागि ठोस मात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उहाँको धारणा छ ।    
    
बागमतीमा ढल निर्माण भएपनि त्यसमा मिसिने अरु खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उहाँले बताउनुभयो । बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ ।    
    
समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हँदा आपसी समन्वय हुनुपर्ने उहाँको भनाइ छ ।    
    
समितिले बागमतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ । बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो ।    
    
पशुपति क्षेत्रको वातावरण सुधारका लागि बिसं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो । शुरुमा कार्यान्वयन र अनुगमन समितिका रुपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update