कुवेत । कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ ।
“कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ“, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो ।
“ जसले कुवेतका अधिकारीहरूसँग समन्वय गरेर छिटो स्वदेश फिर्ता सुनिश्चित गर्नुभएको भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंह पनि सोही विमानमा सवार हुनुहुन्छ“, विज्ञप्तिमा भनिएको छ ।
आगलागीमा ज्यान गुमाउने ४५ जना भारतीयमध्ये २३ जना केरलाका बासिन्दा थिए। यस घटनाले कुवेत र भारत दुवै समुदायमा शोकको लहर निम्त्याएको छ ।
आगलागीमा तमिलनाडुबाट ७ जना, आन्ध्र प्रदेशबाट ३, बिहार, ओडिशा, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, झारखण्ड, हरियाणा, पञ्जाब र पश्चिम बङ्गालबाट १–१ जना साथै केरलाका २३ जना भारतीय नागरिकले ज्यान गुमाएका छन् ।
कुवेतका अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन र प्रभावित परिवारलाई सहयोग गर्न अथक प्रयास गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग गर्ने आश्वासन व्यक्त गर्नुभएको छ ।
भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले जुन १३ मा कुवेतको अस्पताल भ्रमण गर्नुभएको थियो जहाँ उहाँले मङ्गाफमा दुखद आगलागीको घटनापछि उपचार गराइरहेका भारतीय नागरिकहरूसँग कुराकानी गर्नुभयो ।
उहाँको भ्रमणले विदेशमा रहेका आफ्ना नागरिकहरूको कल्याण सुनिश्चित गर्ने भारतको प्रतिबद्धतालाई जोड दिन्छ र सङ्कटको समयमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई प्रकाश पार्छ । एएनआइ