RayNewsDaily
शेयर बजारमा पुनः गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार पुनः घटेर बन्द भएको छ । गत साताको बिहीबारदेखि ओरालो लागेको शेयर बजार मापक नेप्से हिजो भने सामान्य अंक बढेर बन्द भएको थियो । तर, नेप्सेले आज सोही क्रमलाई निरन्तरता दिन भने सकेन ।

नेप्से परिसूचक आज १०.४४ अंक घटेर २०६८.३१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो ३ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.७१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.२८ प्रतिशतले घटेको छ । भगवती हाइड्रोपावरको शेयरमूल्य भने करिब साढे ५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १५ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १० करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशत बढेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update