RayNewsDaily
२१ वटा जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ वटा जोडीले सामूहिक दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन् । 

सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७ औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा हिजो शुक्रबार २१ वटा जोडीले सामूहिक अन्तरजातीय विवाह गरेका हुन् । गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।

कबिर जयन्तीका अवसरमा उहाँको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’को अवसरमा विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो ।

असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताउनुभयो । उहाँका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन् । अनुयायीहरूले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन् । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update