RayNewsDaily
बेनी-जोमसोम सडक अवरुद्ध       

म्याग्दी । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।    
    
सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।    
    
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग-तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।    
    
छयात्तरु किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।    
    
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको ज्यान गएको छ । धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।    
    
विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र सङ्घसंस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update