रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.३७ अंक घटेर २०६२.९४ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ ।
१३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । वृद्धि भएका मध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशत बढेको छ । यस उपसमूहको परिसूचक पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएकामा आज ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ्ग खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १७ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।