RayNewsDaily
चिनियाँ उपविदेशमन्त्री तोङ काठमाण्डूमा

रमेश हतुवाली/काठमाण्डू । उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाण्डू आइपुग्नुभएको छ ।     
     
तीनदिने भ्रमणका लागि काठमाण्डू आइपुग्नु भएका उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर-पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गर्नुभयो । भोलि काठमाण्डूमा आयोजना हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा उपविदेशमन्त्री सुन सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।     
     
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु पनि सम्मिलित हुनुहुनेछ । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।     
     
भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम रहेको छ । 

भारतमा राजदूतको जिम्मेवारी वहन गरिसक्नु भएका उपविदेशमन्त्री सुन वेइतोङको यस भ्रमणमा चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको पोखरा  अन्तर्राष्ट्रिय विमानस्थलमा सीधै चीनका विभिन्न शहरबाट उडानका लागि आवश्यक पहल गर्न नेपालले आग्रह गर्ने स्रोतले बताएको छ । त्यसैगरी लुम्बिनीस्थित गौतम बुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चीनबाट सीधा उडानको लागि समेत आग्रह गरिने स्रोतको दाबी छ । 

अमेरिकी संसद्को विदेश मामिला समितिका अध्यक्ष रिपब्लिकन नेता माइकल म्याकलको नेतृत्वमा रहेको सात सदस्यीय प्रतिनिधिमण्डलका एक शक्तिशाली सदस्य अमेरिकी कांग्रेसका पूर्व सभामुख न्यान्सी पेलोसीले गतसाता भारत भ्रमणका क्रममा निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग भेट गरी तिब्बतको स्वायत्तताको मुद्दा उठाउँदै तिब्बतीप्रति अमेरिकाको समर्थन अटल रहेको समाचार सार्वजनिक भएलगत्तै चीनका उपविदेशमन्त्रीले शुरू गर्नुभएको नेपाल भ्रमण रणनीतिक हिसाबले पनि महत्वपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update