रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । गत साताको बिहीबारदेखि घट्दो क्रममा रहेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचक अंक ३.२१ अंक बढेर २०६६.१६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले वृद्धि भएको छ ।
विकास बैंक र लघुवित्र् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने जलविद्युत्, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेको छ ।
आज दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भने सर्वाधिक ७.०१ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा मेरो माइक्रो फाइनान्स वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो माइक्रोफाइनान्सको २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ ।