रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज फाइनान्स उपसमूहको परिसूचक घटेको छ । पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढिरहेको फाइनान्स उपसमूहमा आज सामान्य करेक्सन देखिएको हो ।
१३ उपसमूहमध्ये आज फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत घटेको छ । यसैगरी, बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ । आज ८ उपसमूहको परिसूचक बढेको छ, जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ । होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्लोबल आइएमई बैंक डिबेञ्चर ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । साधना लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आरएसडिसी लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम साढे ९ करोड नाघेको छ ।