रे समाचार\काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य अंक वृद्धि भएको शेयर बजार आज घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.६० अंक घटेर २०६०.१६ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, शिवश्री हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ । साधना लघुवित्तको शेयरमूल्य भने आज सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, गुडविल फाइनान्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १३ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ ।