RayNewsDaily
सहज बन्दै बेनीका सडक       

सन्तोष गौतम / म्याग्दी । बेनी नगरपालिका-९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुल्नुभएको छैन् ।“घर अगाडिको बेनी-पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,” उहाँले भन्नुभयो “विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए । गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदलयात्रा गर्दथ्यो।”    
    
बेनी-पाखापानी सडकको बेनीदेखि अर्थु्ङ्गे हुँदै जम्रेनी सम्मको सडक स्तरोन्नतिपछि भए पैदल हिँड्न छाडेर गाडीमा यात्रा गर्न थालेको सुवेदीले बताउनुभयो । जम्रेनीका दण्डपानी जस्तै बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको छ । मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ती मिलेका थिएनन् ।    
    
सडक साँघुरा थिए । यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो । त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको लगानीमा सडक ढलान, कालोपत्र, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो । सडक यातायातको सुविधाका कारण बेनी नगरपालिको भकिम्लीको राखु, मरेक, बास्कुना, थामडाँडाका किसानले उत्पादन गरेको सुन्तलाले बजार पाएको छ ।    
    
गत याममा सिङ्गाको बास्कुना, सुर्केमेला र थामडाँडाबाट रु एक करोड पाँच लाख र राखु मरेकबाट रु एक करोड ५० लाख मूल्य बराबरको सुन्तला निकासी भएको किसान रहनुभएका बेनी नगरपालिका-४ का वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।    
    
 सिङ्गा र बास्कुनाबाट दैनिक पाँच सय लिटरका दरले बेनीमा दूध निकासी हुने गर्छ । सडक स्तरोन्नति हुन थालेपछि यात्राअवधि छोटिएको, आवतजावत गर्न सहज भएको र ग्रामीण क्षेत्रमा सम्भावना, अवसर सिर्जना भएको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीका लोकनाथ आचार्यले बताउनुभयो ।    
    
बेनी नगरपालिकाले यसवर्ष उपल्लो तातोपानी बजारसहित ६ वटा सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत योजना कार्यान्वन गरेको छ । बेनी बजारमा उपभोक्ता समितिमार्फत सडक कालोपत्र भएको छ । तीन वटा योजना योजना सम्पन्न भइसकेका र तीन वटा निर्माणको अन्तिम चरणमा रहेको बेनी नगरपालिकाका इञ्जिनीयर सुदिप गौतमले जानकारी दिनुभयो ।    
    
यी आयोजनाबाट दुई किलोमिटर भन्दा बढी सडक कालोपत्र र ढलान हुने इञ्जिनीयर गौतमले बताउनुभयो । उपभोक्ता समितिमार्फत सञ्चालित ६० वटा सडक योजनाका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको थियो । रु पाँच करोड बजेट विनियोजन भएको ६ वटा ठेक्कामार्फत कार्यान्वयन भएका सडक योजनाको निर्माण कम्पनीसँग रु तीन करोड ३६ लाखमा सम्झौता भएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्ैमहिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।    
    
“राष्ट्रिय राजमार्ग र प्रदेश सरकारले काम गरिरहेको बाहेकका सडकलाई नगरपालिकाले स्तरोन्नतिमा जोड दिएको छ,” उहाँले भन्नुभयो “नगरपालिकाको प्राथमिकता प्राप्त बेनी-पाखापानी सडक आयोजना अन्तर्गत बेनीदेखि अर्थु्गे हुँदै जम्रेनीसम्म यसैवर्षभित्र कालोपत्र र ढलान गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”    
    
योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरी प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ,” उहाँले भन्नुभयो “उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौँ ।”    
    
साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । नगरपालिकाले रु पाँच लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गरेको छ । बेनी नगरपालिकाको ६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति गर्ने योजनालाई बेनी नगरपालिकाले प्राथमिकताका साथ निरन्तरता दिएको छ ।    
    
सङ्घीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमार्फत बेनी नगरपालिका-१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको चरणमा छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले बेनी नगरपालिका ८ कालिपुलको सडक अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न रु एक करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको छ ।  म्याग्दी प्रवेश गर्ने कालीगण्डकी मोटरेबल पुलदेखि पर्वत बगरफाँट जोड्ने बेलिब्रिज सम्मको सडक कालोपत्र गर्न लागिएको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।    
    
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर १०२ मिटर बेनी-गलेश्वर खण्डमा गत पुस महिनामा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको थियो । बेनी नगरपालिकामा गण्डकी प्रदेश सरकारमार्फत यस वर्ष दुई वटा ठूला सडक आयोजना कार्यान्वयन थालिएको छ । रु १० करोडको लागतमा बेनी-पाखापानी सडकको भुतेदैला-नेप्टेचौर-तोरीपानी र रु पाँच करोड ५९ लाखको लागतमा बेनी-भकिम्ली सडकको बगरफाँट-दूधेखोला-हल्लेगौँडा क्षेत्रमा स्तरोन्नति गर्ने आयोजना सुरु भएको हो ।    
    
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी १२ वटा योजनालाई रु चार करोड १० लाख विनियोजन भएको थियो । अधिकांश योजना निर्माण सकिएका र केही सम्पन्न हुने चरणमा रहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । नगरपाकिलाका ग्रामीण सडक स्तरोन्नति हुने क्रमसँगै सहज र सर्वसुलभ यातायात सेवाका लागि नगर बस सञ्चालन गर्नुपर्ने नगरवासीको माग छ । बेनी नगरपालिका-६ बाँसबोटकी लक्ष्मी पौडेलले ग्रामीण सडकमा चल्ने जीपको तुलनामा सस्तो भाडादर हुने बस सञ्चालन गर्न नगरपालिकाले अगुवाइ र पहल गर्नुपर्ने बताउनुभयो । नगरक्षेत्रमा अटोरिक्सा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । यसैगरी स्तरोन्नति भएका सडकमा चल्ने सवारी साधनको भाडादर पनि समायोजन गर्नुपर्ने उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update