RayNewsDaily
शेयर बजार घट्यो

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज ८.२४ अंक घटेर २०५१.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । लगानीकर्ताहरू आज ऋणपत्रतर्फ आकर्षित भएका छन् । आज मूल्य बढेका १० शीर्ष स्टकहरुको सूचीमा ९ वटा ऋणपत्र रहेका छन् । 

आज महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक लगायतका बैंकहरूको ऋणपत्रको मूल्य उच्च दरमा बढेको छ । ऋणपत्रबाहेक आज दुई वटा कम्पनी मात्र मूल्य बढेका शीर्ष १० कम्पनीको सूचीमा परेको छ । जसमध्ये त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ७.०९ प्रतिशतले वृद्धि भएको छ । नेपाल फाइनान्सको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड इदी मार्दी हाइड्रोपावरको कारोबार रकम १२ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update