RayNewsDaily
वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण       

रामेछाप (मन्थली) । रामेछापको रामेछाप नगरपालिका-७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ ।    
    
वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेंसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो ।    
    
“वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उहाँले भन्नुभयो । यसवर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो ।    
    
वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update