RayNewsDaily
ठाढो भाकामा असारे गीत

-श्रीभक्त पौडेल “आफन्त“ 

मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।

बाउसे र लाठे/ कान्लामा बसे, ढोड् बिज्यो खुट्टामा
दिएको बैना/ त्यो रातो रुमाल, मन बुज्यो बुट्टामा।।

दही र चिउरा/ कुम् जोडी खांदा, कसैले देखे कि?
दाँया र बाँया/ हेरे है ल माया, हिलोमा टेके सि।।

बर्ष दिन खाने/ मुठी र मानो, गैरी खेत् रोपियो 
घरबारी आज/कुल्चौंकी भनि, भल् पानी छोपियो।।

स्वामी छन् बिदेश/ एकलो ज्यान, मेलामा हिंड्नु छ
नाना र बाला/ पकाइ ख्वाउनु, बेलामा हिंड्नु छ।।  

मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update