काठमाण्डू । प्रत्येक वर्ष असार १५ गते दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा यसवर्ष पनि जारी रह्यो । आज देशभर दही च्यूरा खाएर असार १५ मनाइयो ।
खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेदेखि नै मनाउन थालिएको हो । असार ‘मुठी रोपेर मुरी उमार्ने’ महिनाका रूपमा सदियौँदेखि चिनिँदै आएको छ । वि.सं. २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर आज पनि खेतमै रमाइलो गरिएको छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको विश्वास छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रुपमा मनाएका छन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको हो ।
परम्परादेखि असार धान रोप्ने महिनाका रूपमा परिचित हुँदै आएको हो । वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसैअनुसार आज २१औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल कृषिप्रधान देशका भएकाले यहाँ अधिकांश मानिस कुनै न कुनै रूपमा कृषिसँग जोडिएका छन् तर पछिल्लो समय यसतर्फको आकर्षण घट्दो छ । धेरै स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा आकाशेपानीको भरपनुपर्ने भएकाले देशका सबै भागमा पानी नपरेका कारण असार १५ बितिसक्दा पनि हुनुपर्ने जति रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाए पनि कतैकतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् ।
सरकारले रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरेको छ । सहकारीले व्यवस्थित रूपमा मल वितरण नगर्दा किसान भने मर्कामा परिरहेका जानकारहरु बताउँछन् । रासस