RayNewsDaily
नाउपाले संसदीय दलको नेताबाट रञ्जितालाई हटायो

रे समाचार/काठमाडौं । विवादै विवादले घेरिएको नागरिक उन्मुक्ति पार्टीमा संसदीय दलकाे नेता फेरिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा  प्रमुख सचेतक गंगाराम चौधरीलाई नियुक्त गरिएको छ ।

बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आज श्रेष्ठलाई हटाएर चौधरीलाई जिम्मेवारी दिइएको जनाइएको छ । सो दलद्वारा आज जारी वक्तव्यमा पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जनाइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर सो पार्टीका संरक्षक रेशम चौधरीका बाबु हुनुहुन्छ । संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।

दल नेतामा चयन भएका गंगा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई भोलि जानकारी गराइने बताउनुभएको छ । गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद उत्पन्न भएको थियो ।

NaUPa-1719814863.jpg
श्रेष्ठ नयाँ समीकरणलाई सघाउने पक्षमा हुनुहुन्थ्यो भने  चौधरी कांग्रेससहितको समीकरणको पक्षमा रहनुभएको थियो । रेशम चौधरी र सञ्जिता श्रेष्ठ पति-पत्नी हुनुहुन्छ । पति-पत्नीबीचको विवादले नयाँ जन्मिएको पार्टी लामो समयदेखि विवादमा रुमल्लिएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update