रे समाचार/काठमाडौं । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै शेयर बजारमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार शुरू भएको २१ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।
आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उहाँले भन्नुभयो ।