RayNewsDaily
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरु नै जाति      

ढोरपाटन (बागलुङ) । पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् ।    
    
सुरु-सुरुमा आधुनिक हलो पाउनका लागि चासो दिनेहरु अहिले वास्ता गर्न छाडेका छन् । आधुनिक हलोका सट्टा गोरु पाल्न थालेका छन् । ग्रामीण क्षेत्रका भिराला जमिन जोत्न समस्या हुने र गोरुले जोते जस्तो नहुने हुँदा आधुनिक हलोको प्रयोग घट्न थालेको हो । आधुनिक हलोले थोरै समयमा धेरै खेतबारी जोत्न सकिने भए पनि उत्पादनमा ह्रास आएपछि हल गोरु पाल्न थालेको निसीखोला गाउँपालिका–२ का किसान खुमबहादुर कुँवरले बताउनुभयो ।    
    
तराईमा आधुनिक हलो उपयुक्त हुने भए पनि पहाडी क्षेत्रमा प्रभावकारी नभएको उहाँको भनाइ छ । करिब तीन वर्षसम्म आधुनिक हलोले खेतबारी जोतेर बाली लगाउँदै आए पनि उत्पादनमा ह्रास आएपछि हलगोरुनै पाल्न थालेको कुँवर बताउनुहुन्छ ।    
    
आधुनिक हलोले गोरुले जसरी गहिरो हुने गरी नजोत्दा मकैबाली ढल्ने, धानले गतिलो गरी जरा नहाल्दा उत्पादन घटेको उहाँको भनाइ छ । “गाउँमा आधुनिक कृषि प्रणाली अपनाउन थाल्यौँ, मिनिटेल हलो ल्याएर खेतबारी जोत्न काम पनि भयो, तर हाम्रो जस्तो क्षेत्रमा मिनिटेलको प्रभावकारी हुँदो रहेनछ”, उहाँले भन्नुभयो ।    
    
उहाँका अनुसार बारीमा कहीँ ढुङ्गा, कहीँ गग्रेटा हुन्छन्, तर आधुनिक हलोले गहिरो गरि नजोत्ने रहेछ र गारुले जोत्दा हलो गहिराईसम्म पुग्ने हुँदा बीउ पनि राम्रोसँग उम्रिने र जरा बलियो हुनेरहेछ । “मिनिटेलले माथिमाथिको माटो मात्रै उप्काउने हुँदा उत्पादन घट्यो, मैले हल गोरुले जोत्दा १७÷१८ मुरी धान फलाउथ्याँ, आधुनिक हलोले जोत्दा तीन वर्षसम्म लगातार उत्पादन घट्यो, त्यही भएर अहिले गोरु पालेर जोत्न थालेको छु”, उहाँले सुनाउनुभयो ।    
    
पछिल्लो समय बागलुङका धेरै किसानले हल गोरु पाल्न थालेका छन् । कृषि ज्ञान केन्द्र बागलुङ र स्थानीय तहले अनुदानमा दिने आधुनिक हलोप्रति कम चासो दिएको पाइन्छ ।    
    
जैमिनी नगरपालिका-४ का किसान हर्कबहादुर थापाले आधुनिक हलोभन्दा हलगोरु पाल्दा फाइदा हुने बताउनुभयो । गोरु पाल्दा मल र जोत्नका लागि प्रयोग उहाँको भनाइ छ । करिब चार वर्ष मिनिटेलले बारी जोतेको सुनाउँदै उत्पादन बढाउन नसकेपछि अहिले छोडेर परम्परागत रुपमै हल गोरुले जोत्न थालेको थापा बताउनुहुन्छ । विभिन्न सरकारी सङ्घ संस्थाले आधुनिक हलो अनुदानमा दिए पनि आफूले नलिने उहाँको भनाइ छ । उन्नत जातका बीउ प्रयोग भने बढ्न थालेको थापाले सुनाउनुभयो ।    
    
बागलुङको जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले हल गोरु पालि व्यावसायिक रुपमा खनजोत गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिने भएका छन् । बढ्दो यान्त्रिकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि प्रोहोत्सान गर्न किसानलाई अनुदान दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।    
    
गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्न आगामी वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरेको उहाँको भनाइ छ । प्रविधिको विकाससँगै गोरुले जोत्ने परम्परा हराउन थालेपछि यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिइने अध्यक्ष बुढा मगर बताउनुहुन्छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update