रे समाचार/काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता गठबन्धन गर्ने सहमति गरेपछि शेयर बजारमा उछाल आएको छ । हिजो नेकपा एमाले र कांग्रसबीच नयाँ सरकार गठन गर्ने सहमति भएसँगै आज शेयर बजार उच्च अंकले वृद्धि भएको हो ।
आज शेयर बजार खुलेको १ मिनेट २३ सेकेण्डमा नै नेप्से ४ प्रतिशत बढेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । त्यसपछि खुलेको बजार १६ सेकेण्डमा नै अर्को एक प्रतिशत बढेर शेयर कारोबार पुनः ४० मिनेटका लागि बन्द भएको थियो । सोलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने समाचार बाहिरिएसँगै नेप्सेमा तेस्रो सर्किट लाग्न सकेन । यद्यपि, बजार दिनभरी नै सकारात्मक रहेको थियो । आज नेप्से परिसूचक ४७।.०४ अंक बढेर २१००.४३ विन्दुमा पुगेको छ ।
नेप्सेको वृद्धिलाई आज भोल्यूमले पनि साथ दिएको छ । हिजो करिब ३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज हिमालयन डिष्ट्रिलरीको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी,समाज लघुवित्तको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ६.४६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने युनाइटेड इदी मार्दी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको कारोबार रकम १० करोड नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, वित्त, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।