हाथरस, भारत । उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ ।
प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका समयमा एक्कासि भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो ।
घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो ।
अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन् ।
“महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए । सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथि थिचिएका थिए,” सुरक्षा सेवामा खटिनुभएका प्रहरी अधिकारी शीला मौर्यले बताउनुभयो ।
धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिसको भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।मृत्यु हुनेमा सातजना बालबालिका, एकजना पुरुष र बाँकी सबै महिलाहरु रहेका छन् ।
उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ । सूचीमा १२१ जनाको मृत्यु भएको उल्लेख छ । एएफपी