RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । सत्ता परिवर्तनको कसरतले हिजो उच्च अंकले बढेको शेयर बजार प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने हुनुभएपछि आज सामान्य अंकले मात्र वृद्धि भएको छ । 

शेयर बजार मापक नेप्से परिसूचक आज ३.७९ अंक बढेर २१०४.२२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, मञ्जुश्री फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ४.७० प्रतिशत घटेको छ ।
 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update