RayNewsDaily
सी चिनफिङद्वारा कजाकिस्तानका राष्ट्रपति तोकायेभसँग भेटवार्ता

काठमाण्डू । काजाकिस्तानको राजकीय भ्रमणमा रहनु भएका चीनका राष्ट्रपति सी चिनफिङ र काजाकिस्तानका राष्ट्रपति तोकायेभबीच राजधानी अस्तानामा भेटवार्ता भएको छ ।

आज बिहान अस्तानास्थित राष्ट्रपति भवनमा सम्पन्न भएको सो भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको चाईना मिडिया ग्रुपले जनाएको छ । भेटवार्तामा बोल्नुहुँदै चीनका राष्ट्रपति सी चिनफिङले सुन्दर काजाकिस्तानको भ्रमण गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा बताउनुभयो । राष्ट्रपति सी चिनफिङले काजाकिस्तानका राष्ट्रपति तोकायेभको  नेतृत्वमा काजाकिस्तानका जनताले समृद्ध नयाँ काजाकिस्तान निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । चीन र काजाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३२औँ वार्षिकोत्सवमा स्थायी तथा व्यापक रणनीतिक साझेदारी एक उच्च स्तरमा पुगेको राष्ट्रपति सी चिनफिङको भनाइ छ ।

अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भए तापनि चीन र काजाकिस्तानबीच मित्रताको रक्षा गर्ने आफ्नो मौलिक स्वभाव, चौतर्फी सहयोग प्रवर्द्धन गर्ने आफ्नो दृढता, एकअर्काको मुख्य हितका मुद्दाहरूमा एकअर्कालाई समर्थन गर्ने आफ्नो दृढ संकल्पमा चीन अडिग रहेको राष्ट्रपति सी चिनफिङले बताउनुभयो ।

काजाकिस्तानका राष्ट्रपति तोकायेभले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनहरुमा अझ सुद्धढ हुने विश्वास व्यक्त गर्नुभयो ।

आजै दिउसो चीनका राष्ट्रपति सी चिनफिङ र काजाकिस्तानका राष्ट्रपति तोकायेभले संयुक्त रुपमा पत्रकारहरुसँग कुराकानी समेत गर्नुभएको थियो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै चीनका राष्ट्रपति सी चिनफिङले यसपटकको काजाकिस्तानको भ्रमण आफ्नो पाँचौं भ्रमण रहेको जानकारी दिनुहुँदै राष्ट्रपति तोकायेभसँगको भेटवार्तामा व्यापक सहमति हासिल भएको जनकारी दिनुभयो । आजै दुवै पक्षले जन गणतन्त्र चीन र कजाकिस्तान संघीय वक्तव्यमा हस्ताक्षर समेत गरेका छन् ।

यसैबीच शाङहाई सहयोग संगठनको २४ औं शिखर सम्मेलन आजदेखि काजाकिस्तानको राजधानी अस्तानामा सुरु हुँदैछ । यस सम्मेलनमा सहभागी हुन चीनका राष्ट्रपति सी चिनफिङ हिजो मंगलबार काजाकिस्तान पुग्नुभएको थियो भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत सदस्य देशका नेताहरु पनि अस्ताना पुगिसक्नु भएको समाचार प्राप्त भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update