रे समाचार/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लाग्नुभएको हो । उहाँले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)ले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्रीले संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाउनुभएको हो ।
एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधन लगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।
संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिने भए पनि अहिलेसम्म प्रधानमन्त्री प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र रहेको छ । उहाँको विपक्षमा भने नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिएको छ ।