RayNewsDaily
संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुने

रे समाचार/काठमाण्डू। नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ । 

आज संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताउनुभएको हो । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूरा गरिसक्नुभएको लेखकको भनाइ छ । उहाँले विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम प्रस्तुत हुने बताउनु भयो । सचेतक लेखकले राजनीतिक रुपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताउनु भयो । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने उहाँको भनाइ छ । 

बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या उत्पन्न भइ नागरिको जीवन असहज भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको पनि बताउनु भयो । त्यसैगरी प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने पनि बताउनुभएको छ ।  

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउन राज्य सत्ताको दुरुपयोग गरिएको आरोप पनि लगाउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update