रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । गत साताको सोमबारदेखि उकालो लागेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक २१.२७ अंक बढेर २१४०.९७ विन्दुमा पुगेको छ । आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज सर्वाधिक ५.२५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, नेशनल लघुवित्त, फरवार्ड लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यसैगरी, गुडविल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्सको साढे १५ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १४ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।