रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार आज समान्य अंक घटेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ४.६२ अंक घटेर २१३६.३५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.६८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल् भने आज सर्वाधिक ८.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, जानकी फाइनान्सको साढे १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १० करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ ।