RayNewsDaily
बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु, पाँचजना बेपत्ता, ९ करोड ५७ लाख रुपैँया बराबरको क्षति    

रे समाचार/काठमाण्डू । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपदमापरी हालसम्म ७० जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ गतेदेखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु भएको जानकारी दिनुभयो । कार्कीका अनुसार यस अवधिमा ८६ जना घाइते भएका छन् भने ५जना बेपत्ता भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही अवधिमा बाढीपहिरोका ९ सय ६६ वटा घटना भएका छन् । ती घटनाहरुमा ८६ वटा घरमा क्षति पुगेको र ३ सय ३५ वटा पशु चौपायाहरु मरेका छन् ।

SS-Kanchanpur-24DSC00097(1)copy-1720433041.JPG
नेपाल प्रहरीका अनुसार बाढीपहिरो लगायतका विपद्बाट ९ करोड ५६ लाख, ७४ हजार २ सय ५० रुपैँया बराबरको क्षति पुगेको छ । यस अवधिमा जनधनको सुरक्षा र उद्धारका लागि ४ हजार २ सय ९० जना प्रहरीहरु परिचालन गरिएको छ । यसैबीच भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपदमापरी हालसम्म ७० जनाको मत्यु, विपद्बाट झण्डै ९ करोड ५७ लाख रुपैँया बराबरको क्षति, जनधनको सुरक्षाका लागि ४ हजार २ सय ९० जना प्रहरी परिचालन ।।

बाढीका कारण कञ्चनपुरमा १ हजार ६ सय २२ जना प्रभावित भएका छन् । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका-१० को तीनवटा बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर र वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ ।

SBS-Kanchanpur-24DSC00385copy-1720433078.jpg
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्लाभर बाढीबाट प्रभावित १ हजार छ सय २२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार दोधारा र चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन गरिएको छ । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका-९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता हुनुभएको जानकारी दिएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएका रानाको प्रहरीले खोजी गरिरहेको छ । सोही दिन कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता हुनुभएको छ । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

DD_TIKAPUR-1720433118.jpg
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहका अनुसार दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा ५ सय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो । अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।

SBS_KANCHANPUR_20240708_081908-1720433195.jpg
यसैगरी लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।  आइतबार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १० दशमलव ५ पुगेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update