RayNewsDaily
पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण       

म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।    
    
चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो । “कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो, “सात किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।”    
    
उहाँका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थललगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो ।    
    
पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका-५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।    
    
जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा रु १०-१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका-९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।    
    
महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर-काउलेगौडा-नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा-नाङ्गीदेवी थान बाटो, लामाखोरिया-डाँडागाउँ जोड्ने बाटोमा रु १०–१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।    
    
त्यसैगरी बेनीस्थित डल्लेपिपल-फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका-२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म रु आठ-आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका-१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे-भुवाने, भालश्री छापाछाङ औसी-खालीखोला, बलौटे-दुखुबेँसी, कालीबराह ताल, शिलखुङ-चाङ्गा जोड्ने बाटोमा रु पाँच-पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update