RayNewsDaily
चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन       
चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै । तस्बिर सौजन्य : नेपाली सेना

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।    
    
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताउनुभयो । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिनुभयो ।    
    
आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उहाँले राससलाई जानकारी दिनुभयो ।   

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update