RayNewsDaily
जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताबारे थप चिन्ता       

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको छ ।    
    
यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याउनुभएको थियो । राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रनी नेता भएको बताउनुभयो ।    
    
दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ ।    
    
“अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,” बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो-युक्रेन सम्झौताको घोषणामा भन्नुभएको थियो । राष्ट्रपति बाइडेन तुरुन्तै आफूलाई सच्याउँदै भन्नुभयौ, “राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नुहुनेछ । म पुटिनलाई हराउनमा यति केन्द्रित छु । हामीले यसको चिन्ता गर्नुपर्छ ।”    
    
बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उक्त क्लिप प्रसारण गर्न थालेका हुन् । 
एएफपी

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update