RayNewsDaily
जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई       

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गर्नुभएको छ ।    
    
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै उहाँले मुलुकमा ठूला दलको अग्रसरतामै गणतन्त्रको स्थापना र संविधान निर्माण भएकाले जनता निरासामा रहेका बेला फेरि दुई ठूला दल मिलेर राष्ट्रिय विकास र सहमतिको यात्रा आरम्भ गरिएको बताउनुभयो ।    
    
प्रधानमन्त्री प्रचण्डको विश्वासको मतका विपक्षमा एमालेले मत दिने जनाउँदै उहाँले अब बलियो, प्रभावकारी सरकारमार्फत विकासको गतिलाई तीव्रता र अग्रगमनका लागि संविधान संशोधनका कार्यसूचीका आधारमा नयाँ बन्ने सरकारले काम गर्ने बताउनुभयो ।    
    
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायत दलको सहभागिता र योगदान रहेको स्थितिमा माओवादीको मात्रै योगदान थियो भनिनु गलत हुने तर्क नेता भट्टराईको थियो । उहाँले संविधान संशोधनका लागि माओवादी केन्द्रलाई पनि सँगै लिएर जाने कांग्रेस र एमालेको सोच रहेको अवगत गराउनुभयो ।    
    
प्रधानमन्त्री प्रचण्डले सदनमा प्रस्ताव प्रस्तुत गर्ने क्रममा आक्रोश र झूठ व्यक्त गरेको आरोप लगाउँदै सांसद भट्टराईले जननेता मदनकुमार भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’को जगमा अहिलेको संविधान र सार्वभौम संसद् सञ्चालित भइरहेको बताउनुभयो । एमाले वामपन्थी दलको सहकार्य र एकताका पक्षमा रहे पनि माओवादी केन्द्र समय अनुकूल गठबन्धन बनाउने र भत्काउने खेलमा लागेको उहाँले टिप्पणी गर्नुभयो ।    
    
कतिपटक विश्वास र अविश्वासको प्रस्तावमा छलफल गर्ने ? भन्ने प्रश्न गर्दै उहाँले संविधानको कार्यान्वयन, लोकतन्त्रलाई सुदृढीकरणसहित नेपालको अन्तर्राष्ट्रिय छवि र अर्थतन्त्रलाई उकासेर युवाको भविष्यलाई मुलुकभित्र सुनिश्चित गर्नेलगायतका प्राथमिकताका आधारमा दुई ठूला दलबीचको नयाँ समीकरण बनेको स्पष्ट गर्नुभयो । एमाले नेता एवं सांसद भट्टराईले प्रधानमन्त्रीका आक्रोशपूर्ण अभिव्यक्तिको जवाफ पछिसम्म उहाँले दिइरहनुपर्ने जिकिर गर्दै तीनतीन पटक मुलुकको प्रधानमन्त्री हुँदा यिनै ठूला दलको साथ रहेको स्मरण गराउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update