RayNewsDaily
विश्वासको मत अस्वीकृत, प्रधानमन्त्री प्रचण्ड पदमुक्त

रे समाचार/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएपछि पदमुक्त हुनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो । प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । 

बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको छ । सदनमा उपस्थित २५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बस्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो।

असार १७ गते कांग्रेस-एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको हो।  प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस, एमालेले विपक्षमा मत दिँदा प्रधानमन्त्रीले सदनको बहुमत १३८ सङ्ख्या पुर्‍याउन नसक्नुभएको हो । सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update