RayNewsDaily
अविरल वर्षाले मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोर र कालीगण्डकी करिडोर अवरुद्ध   
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा शनिबार बिहान हिलाम्मे सडकमा फसेका सवारीसाधन । तेह्रकिलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक स्तरोन्नतिमा ढिलाई हुँदा बर्खामा हिलो र हिउँदमा धुलोले सताएको छ । जीर्ण सडकमा जोखिम, सास्ती र झञ्जटपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्बिरः सन्तोष गौतम/रासस

रे समाचार/काठमाडौं । केही दिनदेखि देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ भने दुर्घटनाहरूमा केही यात्रुको मृत्यु समेत भइसकेको छ ।

अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका-१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।    
    
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौँसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम-पूर्व, जाजरकोट, रुकुम-पश्चिम सञ्चालन हुने सवारीसाधान ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका राससले जनाएको छ ।    
    
प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । वर्षा हुँदा वित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उहाँले बताउनुभयो ।    
    
“लोकमार्ग बिहानैदेखि अवरुद्ध छ, अहिले खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायताका साधान ठप्प भएका छन्, यहाँ वर्षा हुँदा वित्तिकै पहिरो खस्ने समस्या भएकाले यात्रीले सास्ती खेप्नुपरेको छ”, प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो । लोकमार्गको निसीखोला गाउँपालिका–४ कालापैरामा पनि लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध हुँदै आएको छ । 

यसैबीच कालिकोटको मान्मबाट प्राप्त समाचार अनुसार आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका-८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।    
    
पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उहाँले भन्नुभयो । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उहाँले बताउनुभयो । 

Road-damage-2-1720860977.jpgम्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटमा रघुगङ्गा नदीमा आएको बाढीले तटबन्ध बगाएपछि गरेको कटान । तटबन्ध बगाएर कटान गरेपछि राहुघाटमा बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर : सन्तोष गौतम/ रासस
   
यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट-हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।  

यसैगरी कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध रहेको राससले जनाएको छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।    
    
कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”    
    
कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।    
    
सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका-२ का राजन सापकोटाले बताउनुभयो । उहाँले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोख्नु भयो । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाउनुभयो ।    
    
“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा पर्‍यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उहाँले भन्नुभयो, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”  

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update