RayNewsDaily
सिमलताल पहिरो अपडेट : पाँच जनाको शव भेटियो

रे समाचार/काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये  दुईजनाको परिचय खुल्न बाँकी छ ।

गृहसचिव आज चितवन जानुहुँदै
चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै हुनुहुन्छ । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको थियो । गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ । आज ठूलो चुम्बकको प्रयोग गरेर बस खोजिँदै छ ।  हालसम्म बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर, टेलिस्कोपको लगायतको सहायताले खोजी गरिएको थियो । तर पनि बस भेटिएको छैन ।

ती बसमा ५० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान छ । तीन जना पौडिएर बाँच्न सफल भएका थिए । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन-नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update