RayNewsDaily
सिमलताल पहिरो अपडेट : थप दुई शवको पहिचान खुल्यो       

चितवन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।    
    
सनाखत हुनेमा भरतपुर-२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण-२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका-१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।    
    
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताउनुभयो । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् । रासस

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update