RayNewsDaily
शेयर बजारको वृद्धि कायमै

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ । आज वाणिज्य बैंकहरूको शेयर उच्च वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै आज बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटाको घटेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । हिजो १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यसैगरी, अप्पर तामाकोशी हाइड्रोपावरको करिब ३९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३० करोड नाघेको छ ।

आज  ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सिन्धु विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ४.५७ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update