रमेश हतुवाली/काठमाण्डू । चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको जारी तेस्रो पूर्ण बैठकले चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन रणनीतिक र गति–निर्धारण सुधारको नयाँ चरण सुरु गर्ने जिम्मेवारी दिएको छ । जसले पार्टीको साहस, संकल्प र बुद्धिको पुनः प्रमाण दिन्छ ।
सन् २०१३ को नोभेम्बरमा सम्पन्न अठारौँ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ऐतिहासिक, व्यवस्थित र व्यापक सुधारको दायरा सुरु गरेर चीनको सुधार र खुलापनको नयाँ चरणमा प्रवेश गरेको छ । एक दशकभन्दा बढी अवधिमा मुलुकले अर्थतन्त्र, राजनीति, संस्कृति, समाज, पर्यावरणीय प्रगति, पार्टी निर्माण र राष्ट्रिय रक्षाजस्ता विभिन्न क्षेत्रहरूलाई समेटेर २ हजारभन्दा बढी सुधार योजनाहरू अघि बढाएको छ । यी सुधारहरूले सबै क्षेत्रहरूमा आधारभूत संस्थागत ढाँचाहरू स्थापित गर्न मद्दत गरेको छ ।
सुधार र खुलापन शुरू भएको ४५ वर्षको अवधिमा चीनको चौतर्फी उपलब्धि, चिनियाँ उपलब्धिहरूका पछाडि राष्ट्रपति सीको कुशल नेतृत्व र चिनियाँ जनताको एकता कारक तत्व रहेको विज्ञहरूको भनाइ ।।
चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले चीनले विश्वका लागि आफ्नो देशको ढोका खुला गर्ने र सुधारका क्रान्तिकारी बाटाहरू पहिल्याउने अभियानलाई निरन्तरता दिँदै आएको सन्देश समय समयमा दिने गर्नुभएको छ ।
सन् १९७९ मा चीनका वरिष्ठ नेता तङ स्याओफिङले शुभारम्भ गर्नुभएको सुधार र खुलापनको बाटोले ४५ वर्षको अवधिमा चीनलाई विश्वकै शक्तिशाली र समृद्ध मुलुकमा रुपान्तरण गर्न सफल भएको छ । सुधार र खुलापनलाई निरन्तर अघि बढाउन तङ स्याओफिङका उत्तराधिकारीहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
सन् २०१२ को डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका तत्कालीन नवनिर्वाचित महासचिव सी चिनफिङले आफ्नो पहिलो निरीक्षण भ्रमणको गन्तव्यको रूपमा चीनको सुधार र खुलापनको सिमाना रहेको चीनको दक्षिणपूर्वी प्रान्त क्वाङ्तोेङलाई रोज्नुभयो । सो भ्रमणमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी र देशलाई परिचालन गर्ने आदेश जारी गर्नुभयो । भ्रमणका क्रममा महासचिव सी चिनफिङले सुधार र खुलापन शुरू गर्ने निर्णय सही थियो भनी टिप्पणी गर्नुभयो । महासचिव सी चिनफिङले सुधार र खुलापनको सही बाटोमा लाग्नु पर्छ भनी मन्तव्य समेत व्यक्त गर्नुभयो ।
भ्रमणमा महासचिव सी चिनफिङले “राष्ट्र र जनताको समृद्धिको बाटोमा अडिग रहनुपर्छ” भन्दै मुलुकको समृद्धिमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । एक दशकभन्दा बढी समयदेखि महासचिव सी चिनफिङले सुधारको समग्र दिशाको निरन्तर योजना बनाउनु भएको छ भने खुलापन र सुधारको कार्यान्वयनलाई प्राथमिकता दिनुभएको छ । जसको परिणाम स्वरुप चीन आज विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ भने अन्तरीक्ष विज्ञान, कृषि, शिक्षा र पर्यावरण संरक्षणमा आश्चर्य लाग्दो फड्को मारेको छ । नयाँ युगमा सुधारको गहिराइका लागि अर्को महत्वपूर्ण वर्षहरूको सुभारम्भ भइरहेको बताउनुहुँदै चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सुधारको नयाँ अध्याय संयुक्त रूपमा लेख्न चीनका झण्डै एक अर्ब ४० करोड जनताले नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सी चिनफिङले सत्ता सम्हालेपछिका जति पनि उपलब्धिहरू चीनले हासिल गरेको छ, त्यसमा राष्ट्रपति सीको कुशल नेतृत्व, दूरदर्शी सोच र चिनियाँ जनताको एकता कारक तत्व भएको विज्ञहरूको भनाइ छ ।