RayNewsDaily
छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा छ : भारतीय प्रधानमन्त्री मोदी       

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिनुहुँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।    
    
दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गर्नुभएको छ । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुहुँदै उहाँले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।    
    
“भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ”, भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ ।”    
    
नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update