RayNewsDaily
शेयर बजार ६१ अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार निरन्तर चौथो कारोबार दिन बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि बढ्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज पनि १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक र गणपति लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ ।

सिक्लेस हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको ३४ करोड १० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब २८ करोडको शेयर किनबेच भएको छ । 

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.८० प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update