RayNewsDaily
रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली   

काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताउनुभएको छ ।    
    
 प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताउनुभएको हो ।    
    
 “संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै आग्रह पुर्वाग्रह राखेर संविधान संशोधन यस्तो-उस्तो गर्ने भन्दैनौ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यहि गर्नुपर्छ ।”    
    
 संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । “संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन । पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन । जो जसका जे जस्ता विचारधारा भएपनि हामी एक ठाउँमा आउन सक्छौँ । यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ”, उहाँले भन्नुभयो ।    
    
 देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहनेगरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवद्र्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले भन्नुभयो ।    
    
संसदमा आएका राम्रा सुझावलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले बताउनुभयो । त्यस्तै भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उहाँले बताउनुभयो । रासस    

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update