RayNewsDaily
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त

रे समाचार/काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । 

नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराउनुभयो ।     

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त, प्रतिनिधिसभाका २७५ जना सदस्यमध्ये विश्वासको मतको पक्षमा १८८ मत, विपक्षमा ७४ मत, एकमत तटस्थ ।।

मतदानमा कुल २ सय ६३ जना सदस्यहरुले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दल सम्वद्ध सांसदहरुको १ सय ८८ मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलहरुको गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गर्नुभएको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ हो ।     

मतदानमा एकजना सदस्य तटस्थ रहनुभएको थियो । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ७ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।     

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update