RayNewsDaily
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता   

हेलम्बु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।    
    
मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने बताउनुभयो । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उहाँको भनाइ थियो ।    
    
सो क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिनुभयो । आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उहाँलाई जानकारी गराउनुभयो ।    
    
 प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले यस क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो । उहाँले हेलम्बु–१ मा करिब नौ किलोमिटर सडक तत्काल कालोपत्र गर्नुपर्ने अवस्था रहेकाले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।    
    
 प्रधानमन्त्री दाहाल आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची आइपुग्नुभएको हो । उहाँलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गर्नुभएको थियो ।    
    
गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । उहाँका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहनुभएको छ । वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो ।    
    
काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीनरुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पु-याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।    
    
वि.सं. २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । वि.सं. २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।    

 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update