RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंक वृद्धि भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि उच्च अंकले बढिरहेको शेयर बजार मापक नेप्से आज भने दिनभरि उचारचढावका बीच सामान्य अंक बढेर बन्द भएको छ ।

कारोबार अवधिमा बारम्बार नकारात्मक भए पनि अन्तिम समयमा भने नेप्से सकारात्मक भएर बन्द भएको हो । आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो । कारोबार शुरू भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुगे पनि टिक्न भने सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन । अन्तिममा नेप्से परिसूचक २.१५ अंक बढेर २४८८.०९ विन्दुमा बन्द भएको छ । नेप्से सकारात्मक भए पनि आजको कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । हिजो १५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा  आज १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढिरहेको बैंकिङ्ग उपसमूहमा भने आज करेक्सन भएको छ । सो उपसमूहको परिसूचक आज सर्वाधिक १.२३ प्रतिशतले घटेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशतले बढेको छ । यसैगरी, जलविद्युत्, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज मुक्तिनाथ कृषि विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १३५ रुपैयाँ ९० पैसा बढेर १ हजार ४९४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ९.९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । यसैगरी, शिवम् सिमेन्टको करिब ३५ करोडको शेयर खरिदबिक्री भएको छ भने कुमारी बैंकको कारोबार रकम २८ करोड नाघेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update