RayNewsDaily
पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्योः अध्यक्ष नेपाल  

काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको चर्चा गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो ।    
    
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभएका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो,“तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालले सुरू गरेको कम्युनिष्ट आन्दोलनको यात्रा अहिले विभिन्न रूपमा सञ्चालन भएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा पटकपटक सरकार निर्माण भएका छन् । जनताको आर्थिक र सामाजिक रूपान्तरणका प्रयास भइरहेका छन् । यसमा पुष्पलाललगायत नेताहरूले गरेको योगदानको महत्वपूर्ण भूमिका छ ।”    
    
अध्यक्ष नेपालले राजनीतिक क्रान्तिका विभिन्न चरण तथा सङ्घर्षका बेला सिद्धान्तप्रति अविचलित रहनुभएका पुष्पलाल देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न तथा अरू साथीलाई प्रेरित गर्ने त्याग एवं निष्ठाको आदर्श भएको धारणा राख्नुभयो ।    
    
त्यसक्रममा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, कम्युनिष्ट नेता वामदेव गौतमलगायत नेताहरूले कार्यक्रमस्थलमा रहेको पुष्पलालको शलिकमा पुष्पगुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।    
    
जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको वि.सं. २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।    
    
जनअधिकार स्थापित गर्ने लक्ष्यका साथ विसं २००६ वैशाख १० मा पुष्पलालसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना गर्नुभएको थियो ।रासस   

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update