RayNewsDaily
चिनियाँ राजदूत छन् सोङ र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता

काठमाण्डू । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ । 

आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर राजदूत छन् सोङले गृहमन्त्री लेखकसँग भेटवार्ता गर्नुभएको हो । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने भन्दै नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पु-याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिनुभयो । 

गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताउनुभयो । 

राजदूत छन् सोङले नेपाल र चीनबिचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने साथै नेपाल र चीनबीच साँस्कृतिक लगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो । 

राससका अनुसार राजदूत छन् सोङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पार्नुभएको थियो । अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने राजदुत छन् सोङको भनाइ थियो । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update