RayNewsDaily
शेयर बजार २५०० विन्दुमाथि

रे समाचार/काठमाडौं । निरन्तर ६ दिनको वृद्धिपछि शेयर बजार मापक नेप्से परिसूचक २५०० विन्दुभन्दा माथि पुगेको छ । साउन महिनाको पहिलो कारोबार दिनदेखि बढ्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ७५.३३ अंकले वृद्धि भई २५६३.४३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो करिब १४ अर्बको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने होटल तथा पर्यटन, जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । 

आज ७ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङ्ग, साहस ऊर्जा र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, हिमालयन ऊर्जा र युनिभर्सल पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गणपति लघुवित्तको शेयरमूल्य भने करिब ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, अपि पावरको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update