आमा
डा. मनीषा न्यौपाने
प्रकृतिको नियम थियो
नारी हुनुको ठूलो शक्ति थियो
छोरीबाट धर्मपत्नी
बुहारीबाट सन्तानको आमा
जुन जीवनको हिस्सा थियो
सायद, पुथ्वी सुष्टिसँगै जोडिएको थियो ।
सबै नारीहरूको कथा
अनुभव बेग्लाबेग्लै
भावना एउटै
सबैको पीडा उस्तै उस्तै
आज व्यक्त गर्दै छु
भोगाइका कुरा
सायद सधैं निकाल्थे कल्पित पात्रहरूका कथा
शब्दभन्दा पनि धेरै माथिका कुरा
वर्णन गर्दागर्दै शास्त्रका ठेली सबै समाप्त होलान्
यिनैभित्र आमा तिम्रो अनेकौं रुप भेटिएला,
तर,
भेटिन कुनै शब्द, यन्त्र, तन्त्र न त कुनै आधुनिक अस्त्र
व्याख्या तिम्रा धैर्यका ।
हिजोसम्म पहिचाान्थे तिम्ले जन्मायौ
तिमी हौ मेरी आमा भनेर
सकाउँथे सबै तिम्रा त्याग यहीं आएर
फर्किन सक्दिनथें पछाडि हेर्नलाई बितेका पल
न त सोच्न सक्थें अगाडि तिम्ले देखेका सपना
बिस्तारै हुर्किदै गएँ ।
सन्तानको आमा बन्ने जीवनकै ठूलो उपलब्धि
एकएक पल अहिले आएर थाहा पाए नौँ नौँ महिनाको तिम्रो त्याग
आफूभित्र आफूजस्तै हुर्काउँदै गर्दाको खुसी
अथाह कष्ट सहेर स्वीकारेको त्यो समर्पन आगन्तुकको निम्ति
तीस दिन पनि होइन एकसय नौ दिन पनि होइन
चालिस चालिस हप्ता एकहजार दुईसय दिन
आफूभित्र सुरक्षित राखेर दिलएको त्यो रक्षा बल्ल महशुस गर्दैथिएँ ।
तिम्रा ती कालजस्ता समय
थिएन कोही साथमा
गर्नलाई अँकमाल तिम्रा असहजतामा ।
जन्मिएपछि म बुझ्ने भएपछि भन्ने गर्थ्यौ मलाई तिमी
तिमी त मेरो जन्मनु अगाडिदेखिकै साथि
साथमा कोही भएर पनि
अनुभव गर्दैछु मैले ।
आमा तिम्रो मात्र होइन
मेरो मात्र पनि होइन
यो त प्रकृतिको नियम रहेछ
नारी हुनुको कर्म रहेछ ।
प्रसव पीडापछिको नयाँ जीवन
आफूभन्दा धेरै
अरुको भन्दा पनि माथि सन्तानको माया जोडिदो रहेछ
स्वार्थी कसले कसलाई भन्ने
आरोप त लगाउन सजिलो हुन्छ ।
भनाइ नै छ बाबा आमाको मन छोराछोरीमाथि
छोराछोरिको मन ढुङ्गामुढामाथि,
डुङ्गाले हिड्दै पाइला मेटाउदै गरेको उदाहरण जहाँ मिल्न जान्छ ।
जतिबेला आमा तिम्ले आफ्नो कोखबाट छिनाएर
घरबाट छोरीलाई उनको कर्मघर सम्म पुयाउँछौ
जिम्मेवारी कम भयो भन्ने सम्झिन्छौ
त्यसपछि नै सुरु हुन्छ एक नारीको समय
जहाँ डुब्न र तैरिन लाग्छ,
केही समय गासिँन पुग्छन नयाँ नाता र सम्बन्धहरु
सँगै आफ्ना नयाँ सम्वोधनहरु
सुन्छु आज दमले लग्यो अरे तिम्री आमालाई
जसको पीडा थाहा छैन सायद बन्न लागेकी आमालाई
समय एउटै पनि नहुँदो रहेछ दु:ख र खुशी बाँड्नलाई,
कतै गुमाउँदाको पीडा
कतै नयाँ आगन्तुकको खुशि।
तिमी नआउँदासम्म पनि यस्तै थियो मलाई
खई त सन्तान भन्नेको ताँती
तिमी आउँदै छौ अहिले
फेरि सोध्दैछन् छोरा कि छोरी ?
पीडा घटबढ त लाग्दैन
तिमी दुईमा फरक पनि देख्दिन ।
तिमLलाई धान्न नसकेर कैयौं पटक वेहोसी हुँदा
सुरुवातका दुई तीन महिना होसमा पनि भइनँ ।
न त उठाउनलाई कोही न त सोध्नलाई कसैको शब्द,
कठै विचरा बन्न लागेकी आमाको कथा
उल्टी गर्दागर्दै तिम्लाई नै निकाल्छु कि भन्ने भ्रम,
आफ्नो दुःख केही छैन
भित्र तिम्लाई दुख्ला कि भन्ने डर
अनिदो रातसँग जोडिएका छट्पटीहरु
र छट्पटीसँगै आउने तिम्रो कल्पित चित्र
रात कटाउने र दिन बिताउने मेरो उपाय ।
बिस्तारै पाँचौं महिना तिमलाई मसँग बस्नको निम्ति संघर्ष,
मलाई तिमीसँग रहनको लागि संघर्ष
बिस्तारै भित्र तिमी वढ्दै छौ
बाहिर आउनलाई प्रार्थना गर्दै छौ
बच्चा
तिम्लाई पक्कै महशुस हुँदैन
किनकि यो अनुभव थिएन मलाई पनि
वन्न लागेकी आमाको पीडा
डरसँगै जोडिएका हजारौं चिन्तन मनन्
त्यसैले लेख्दै छु यो सम्झनाको पत्र
तिमीलाई र सम्पूर्ण आमाहरुलाई ।
थाहा गराउन दुईबीचका भित्री वन्धनहरुसँग पलाएका मायाका
अविरल स्रोतहरु शब्दैबाट भए पनि अनुभव गराउनलाई ।
समयले वारिपारि त पक्कै बनाउँछ
तर,
विर्साउदैन आमाको माया सन्तानप्रति र सन्तानको माया आमाप्रति ।
आमा तिमी आमा हौ,
धर्ती माता हौ
सम्झिने मौका पाएँ मैले पनि
चाहे तिमी काली हौ
चाहे तिमी गोरी हौ
छैन रङ्गभेद, छैन कुनै दोस्रो हेराइ
न त कुनै विचार तिमीमाथि
किनकि तिमि नै संसार सन्तानको लागि
तिमी नै माता लक्ष्मी
तिमि सरस्वती
तिमी नै देवी
तिमी नै क्विन एलिजावेथ,
तिमी नै म्यारी क्युरी
तिमी नै भ्यालेनटिना
तिमी नै फ्लोरेन्स नाइटिङ्गेल ।
तिमी नै ओत भारी वर्षाको
तिमी नै घाम चिसो मौसमको
अनि तिमी नै जून मेरो कक्षको ।