RayNewsDaily
प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको विमान : प्रवक्ता सुवेदी       
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना भएको स्थलमा उद्दारका लागि खटिएका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी । तस्बिरः किरणराज विष्ट/रासस

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको विमान प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिनुभएको छ ।    
    
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई विमान आज विहान दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त विमान उड्नेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।    
“विमानमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर विमान परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु विमानमा सवार रहेको जानकारी आएको छ ।” गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । रासस

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update