RayNewsDaily
बंगलादेशमा तनाव कम हुँदै गएपछि निषेधाज्ञा आदेशलाई खुकुलो पारियो         
ढाकामा जुलाई २५ देखि कोटा विरोधी विरोध प्रदर्शनका क्रममा लगाइएको कर्फ्यू खुकुलो भएपछि मानिसहरू बजारमा किनमेलमा व्यस्त । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सात घण्टाको लागि स्वतन्त्र आवतजावत गर्न अनुमति दिइएको छ । तस्बिर : एएफपी

ढाका । बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको बिरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निशेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो ।    
    
विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् ।    
    
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्याङ्कमा उल्लेख छ ।    
    
हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् रअझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् ।    
    
हसीनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ ।    
    
दुई करोड जनसङ्ख्या रहेको राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको भीषण झडपको केही दिनपछि बिहीबार बिहान यात्रुको भीडले सडक भरिएको देखिन्थ्यो ।    
    
गत हप्ता बन्द भएका बैङ्क, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू बुधबारदेखि नै खुलेका थिए ।    
    
शुक्रबार समाप्त हुन लागेको आन्दोलनलाई फेरि लम्ब्याउने वा नबढाउने भन्ने बारे निर्णय गर्ने तयारीका लागि विद्यार्थी नेताहरूको बैठक बिहीबार बस्ने बताइएको छ ।    
    
यस महिनाको र्‍याली आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले सरकारबाट धेरै छुटको अपेक्षा गरेको बताएको छ ।    
    
समूहका एक संयोजक आसिफ महमुदले एएफपीसँग भन्नुभयो, “प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीहरूको सामूहिक हत्याका लागि राष्ट्रसँग माफी माग्नुपर्छ भन्ने हाम्रो माग छ ।”    
    
“हामी गृहमन्त्री र शिक्षामन्त्रीलाई पनि घटनाको लागि जिम्मेवार ठहर गर्दै बर्खास्त गरियोस् भन्ने चाहन्छौँ ।”    
    
महमुदले प्रदर्शनमा सहभागी भएको सङ्ख्यालाई कम आँकलन गरिएको बताउनुभयो । एएफपीका अनुसार गत हप्तादेखि सुरु भएको हिंसामा प्रहरीले कम्तीमा दुई हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।     
    
गत जुन महिनामा आधाभन्दा बढी सरकारी जागिर केही वर्गका लागि आरक्षित गर्ने योजना लागू भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका लडेका भूतपूर्व सैनिकका सन्तानका लागि करिब एक तिहाइ आरक्षणको व्यवस्था भएको भन्दै विद्यार्थी समूह आन्दोलित भएका थिए ।    
    
सरकारी आँकडाअनुसार बङ्गलादेशमा करिब एक करोड ८० लाख युवाहरू कामबाट बञ्चित भएका छन्, यस कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ ।    
    
यो आरक्षण (कोटा) प्रणाली हसिनाको अवामी लिगका वफादारहरूलाई सार्वजनिक जागिरहरू दिलाउन प्रयोग गरिएको सरकारका आलोचकहरूले बताएका छन् ।    
    
सर्वोच्च अदालतले आइतबार आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर आरक्षणपूर्ण रूपमा खारेज गर्न प्रदर्शनकारीहरूको माग भने पूरा भएको छैन ।    
    
सन् २००९ देखि देशमा शासन गरिरहेकी ७६ वर्षीया हसिना विपक्षीहरूको सहभागिताबिना जनवरीमा भएको निर्बाचनमा लगातार चौँथो पटक विजयी हुनुभएको थियो ।    
    
उहाँको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप पनि लगाएका छन् । एएफपी

 


 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update