RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । बढ्दो क्रममा रहेको शेयर बजारमा हिजो करिब साढे २७ अंकको करेक्सन भएको पनि आज पुनः बढेर बन्द भएको हो ।

आज शेयर बजार मापक नेप्से परिसूचक ३२ अंकले वृद्धि भई २५६८.११ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । हिजो १६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी,गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, आरएसडिसी लघुवित्त, नाडेप लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने आज सर्वाधिक ७.६५ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी,  हिमालयन लाइफ इन्स्योरेन्सको साढे २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको करिब २४ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशतले बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update